Live Streaming

मौद्रिक नीति : सेयर कर्जासँगै घरजग्गाा र सवारी कर्जा खुकुलो बनाउने योजना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत् सेयर कर्जासँगै घरजग्गा र सवारी कर्जा खुकुलो बनाउने नीति लिएको हो । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिम भार १०० प्रतिशत थियो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  २५ लाख कर्जालाई ५० लाख पु¥याउने तर जोखिम भार १०० प्रतिशत नै कायम राख्ने जानकारी दिनुुभयो ।

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक पछि पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले ५० लाखसम्म कर्जा पु¥याए पनि  जोखिम भार १०० प्रतिशत नै हुने जानकारी दिनुुभयो । सर्कुलर जारी गरेपछि सेयर ,घरजग्गा र सवारी कर्जा केही हदमा खुकुलो हुने उहाँको भनाई छ । यस्तै आवासीय घर कर्जाको जोखिम भार १५० बाट १०० मा झार्ने गभर्नर अधिकारीले बताउनुुभयो ।यस्तै  बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिनेछ ।

वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनःमूल्याङ्कन गर्नुको साथै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बैंकको भनाई छ । नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने उहाँले बताउनुभयो । 

मौद्रिक नीतिमा विधुतीय मुद्रा जारी गर्न भएको अध्ययनको आधारमा थप काम अगाडि बढाइने उल्लेख छ । राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई एक वर्षमा दुई पल्ट १५ सय अमेरिकी डलर सटहीको सुविधान दिने गरेकोमा यसलाई बढाएर २५ सय बनाउने भएको  छ । केन्द्रीय बैंकले नीतिगत ब्याजदर ५० आधा बिन्दुले  घटाएर ६.५ प्रतिशत कायम  गरेको छ । बैंकहरूलाई यथावत राखेर निक्षेप संकलन बोलकवोल दर १ प्रतिशतले घटाइ ४.५ प्रतिशत कायम गरिएको छ ।

केन्द्रीय बैठकले चालु आर्थिक वर्षमा मुल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको गभर्नर अधिकारी बताउनुभयो । त्यस्तै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्तिका लागि प्रोत्साहन गर्ने भएको छ । २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने राष्ट्र बैंकले जनाएको छ ।यस्तै लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने गभर्नर अधिकारीले बताउनुभयो ।

यसैबीच नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको मिश्रित प्रतिक्रिया आइरहेको छ । मौद्रिक नीतिले अधिकांश लगानीकर्ता र व्यवसायी खुसी देखिएका छन् । लामो माग राखेर सुझाव दिएका लगानाीकर्ताको एउटामात्र सुझाव केन्द्रीय बैंकले प्रत्यक्षरूपमा समेटेको छ । अन्य बुँदाहरूले पनि अप्रत्यक्ष बजारमा सहयोग गर्ने उनीहरूको अपेक्षा छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार विगतका नीतिभन्दा अहिले गभर्नर शेयर बजारप्रति केही उदार बन्न खोजेको बताउनुभयो ।