Live Streaming

स्वरकिन्नरी तारादेवी फाउण्डेसनको पाँचौ सांगीतिक साधारण सभा सम्पन्र

काठमाडौँ । स्वर किन्नरी तारादेवी श्रेष्ठको सम्झनामा स्थापित तारादेवी स्मृति फाउण्डेसनको पाँचौं साधारण सभा सम्पन्न भएको छ । आस्था कला केन्द्र परिसरमा आयोजित एक कार्यक्रमका बिच तारादेवी स्मृति फाउण्डेसनको पाँचौं साधारण सभा सम्पन्न भएको हो ।  

कार्यक्रममा संचार तथा सांगीतिक क्षेत्रमा रहेर उल्लेख्य योगदान पुर्याए वापत संचारकर्मी शिरोमणि दवाडी, गायिका गीता पाण्डे, संगीता शाक्य लगायतका कलाकारहरूलाई सम्मान गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथी युवा नेता सांसद प्रदिप पौडेलले नेपाली संस्कृति र कलाले राष्ट्रकै पहिचान र गौरव बढाउने हुँदा राज्यले यस तर्फ विषेश ध्यान दिनुपर्ने बताउनुभयो ।    

कार्यक्रमका वक्ताहरू गितकार किरण खरेल, सहदेव ढुंगाना, फाउन्डेसनका अध्यक्ष दिपक केसी, संचारकर्मी शिरोमणि दवाडी, नारायण गोपाल संगीत कोषका राजकुमार श्रेष्ठ, राष्ट्रिय श्रस्टा तथा प्रस्तोता प्रतिष्ठान अध्यक्ष राजेन्द्र बजगाई लगायतले श्रष्ठा र सिर्जनाको संरक्षण प्रति चासो र चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भएको थियो ।  

आस्था कला केन्द्रका निर्देशक तथा फाउन्डेसनका सचिव रमेश थापाले नगरपालिका लगायतका दातृ संस्था तथा व्यक्तिबाट सहयोग जुटाएर फाउन्डेसनका लागि हाल ४१ लाखको कोष खडा गरिएको र निकट भविष्यमा ७५ लाखको अक्षयकोष पुर्याएर संस्थालाई नयाँ गति दिने लक्ष्य रहेको जानकारी दिनुभयो ।  

कार्यक्रममा आस्था कला केन्द्रका कलाकारहरूले तारादेवीका कालजयी गीतहरू प्रत्यक्ष प्रस्तुत गरिएकाे थियाे ।