Live Streaming

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा साहलाई, आज बिहान सपथ

काठमाडौँ । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिनु हुनेभएको छ । सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । भोलि बिहान १० बजे राष्ट्रपति भवनमा सपथका लागि खबर आएको छ ।” जनमत पार्टीको सचिवसमेत रहनुभएका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । मन्त्रालयको जिम्मेवारी पाउने खबरले आफू उत्साहित र जिम्मेवार महसुस गराएको साहले रासससँग बताउनुभयो ।

“पार्टीबाट स्थानीय तहमा उम्मेदवारीको अवसर पाएको थिएँ”, उहाँले भन्नुभयो, “पार्टीको हरेक तहतप्कामा दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गरेँ । अहिले पार्टीले विश्वास गरेरै यो जिम्मेवारी दिएको छ । उत्साहित छु, जनताप्रति उत्तरदायी हुने प्रयास गर्नेछु ।”

साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ । उहाँ किसान आन्दोलनको अग्रमोर्चामा सहभागी हुनुभएको थियो । धनुषा जिल्लाको पार्टी इनचार्जको जिम्मेबारीसमेत निर्वाह गरिसक्नुभएकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो । यसअघि उहाँले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिनुभएको थियो ।

उहाँ जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष समेत बन्नुभयो । विसं २०३९ मा औरही गाउँपालिकामा जन्मनुभएकी उहाँले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । ‘वोरेक नेपाल’ नामक संस्थासँग आबद्ध भएर काम गर्नुभएका उहाँ एक दशक महिला अधिकार र समाजसेवासम्बन्धित काममा आबद्ध हुनुहुन्थ्यो ।