Live Streaming

दलित समुदायभित्रका बुहारीलाई निशुल्क पढाउने तीनपाटन गाउँपालिकाको निर्णय

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरुको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न एक कार्यक्रम ल्याएको छ । आइतबार एक सुचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्रका सरकारी/सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरी रहेका र गर्न चाहने बुहारीहरुलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क नलिने बताएको हो ।

'बुहारीहरुलाई स्नातक बा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्क र सिक शुल्क गाउँपालिकावाट ब्योहोर्ने गरी “सासूको इच्छा, बुहारीलाई शिक्षा" नामक कार्यक्रम सञ्चालनमा ल्याइएको छ,' सुचनामा उल्लेख छ ।

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी/छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनैपनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ । साथै महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजानसक्ने व्यवस्था सुचनामा उल्लेख छ ।

लाभ लिनको लागि पुर्याउनुपर्ने विधिबारे थप उल्लेख गर्दै सुचनामा भनिएको छ, 'अभिभावक समेत नभएमा सम्बन्धित वडाको महिला बडा सदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक/स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानुपर्नेछ।'

त्यस्तै क्याम्पसले पनि माथि उल्लेख भए बमोजिमको प्रकृया पूरा गरी भर्ना हुन आउने दलित समुदायभित्रका छोरी/वुहारीलाई भर्ना गर्ने व्यवस्था मिलाउने र अभिलेख प्रयोजनका लागि भर्ना हुँदाका 'बखतको फोटो अनिवार्य खिच्न गाउँपालिकाले भनेको छ।