Live Streaming

गौ–संरक्षित क्षेत्रका लागि गृहमन्त्री श्रेष्ठले पहल गर्ने : गौ हत्या रोक्ने प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एमव् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरकानूनी रुपमा भइरहेको गौ हत्या एवम् तस्करी रोक्न सशक्त भएर लाग्ने बताउनुभएको छ । 

भगवती मानव कल्याण संगठन, नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले गौ संरक्षणका लागि यस अघि पनि कडाइ गरिएको भन्दै थप शसक्त भएर लाग्ने बताउनुभएको हो ।संगठनले प्रदेशमा खाली रहेका प्राकृतिक भूमि एवम् वन–जंगल आसपास अनुकुल क्षेत्रको सीमा निर्धारण गरि गौ–संरक्षित क्षेत्र सञ्चालन गर्न ज्ञापनमार्फत माग गरेको छ ।

संगठनले देशव्यापी १०८ जनजागरण कार्यक्रम सम्पन्न गरेपश्चात गौ हत्या एवम् तस्करी रोक्न उपप्रधान एमव् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । संगठनले ज्ञापन मार्फत गौ–संरक्षित क्षेत्र सञ्चालन गर्न छुट्टै विभागको माग समेत गरेको छ । संगठनले  गौ–संरक्षित क्षेत्रमा छाडा र बेसहारा गाई–गोरु आदिलाई रेखदेख र उपचार आदिको व्यवस्था गरिनुपर्ने माग समेत गरेको छ ।

नेपाल राष्ट्रकी सचिव डा. मिनु सिग्देलले नेपालको कानूनले गौ हत्यालाई पूर्णतः बर्जित गरेको भएतापनि दिनानुदिन गौ–तस्करी र हत्याको घटना बढेको भन्दै गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको बताउनुभयो । नेपालको कानूनमा गौहत्या दण्डनीय अपराध भएतापनि व्यवहारमा दण्डहीनता मौलाएको उहाँको भनाइ छ ।

यसैबिच नेपाल राष्ट्रका प्रचार मन्त्री नारायण सेढाईले गौहत्या एवम् गौ तस्करीलाई निरुत्साहित गर्न विशेष कार्यक्रम सञ्चालनका लागि गृहमन्त्री श्रेष्ठ सकरात्मक रहेको बताउनुभयो । भगवती मानव कल्याण संगठन समाजमा अनिति, अन्याय र अधर्मका हरेक गतिबिधिमा निगरानी गर्दै आएको उहाँले बताउनुभयो । कार्यान्वयन तहसम्म सरकारको खबरदारी  गरिरहने प्रचारमन्त्री सेढाईंको भनाई छ । 

यसैबिच उपप्रधान एमव् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौ–संरक्षित क्षेत्र सञ्चालन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन मन्त्रालयसँग समन्वय गरेर कार्यान्वयन तहमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भगवती मानव कल्याण संगठन नेपालले उठाएको मुद्दा सकरात्मक रहेको र छाडा चौपाया व्यवस्थापनमा समेत यसले सशक्त भूमिका निर्वाह गर्ने मन्त्री श्रेष्ठको प्रतिक्रिया  छ । भगवती मानव कल्याण संगठनले गौ रक्षाको उद्देश्य हेतु देशव्यापी रुपमा १०८ जनजागरण कार्यक्रम सम्पन्न गरेपश्चात गृहमन्त्री श्रेष्ठ मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । 

भवगती मानव कल्याण संगठन, नेपालले पछिल्लो १५ बर्ष देखि भय, भोक र भ्रष्टाचार मुक्त समाज एवम् नशा, मांशाहार मुक्त चरित्रवान समाज निर्माणका लागि सतत् प्रयास गर्दै आएको छ । नशामुक्त नेपाल, खुशीयाली नेपाल अभियान, नशामुक्त समाजका लागि नियमित घरदैलो अभियान, नैतिक एवम् आध्यात्मिक चेतना प्रवाहका लागि घर–घरमा साधनाक्रम, देशलाई नशामुक्त बनाउन प्रशासनलाई ज्ञापन, शान्तीपूर्ण याली लगायतका अनेकौँ समाजिक कार्यक्रम संगठनले देशका सातै प्रदेशमा सञ्चालन गर्दै आएको छ ।