Live Streaming

१५औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट आह्वान

काठमाडौँ । १५औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्क्रिप्ट आह्वान गरिएको छ । शैली थिएटर, ओजस  थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल इसानको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्यसमूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ । आवेदन पुस ५ देखि २१ सम्म पठाइसक्न आग्रह गरिएको छ ।

त्यस्तै, १५औँ राष्ट्रिय बाल नाटक महोत्सवका डाइरेक्टर नवराज बुढाथोकीले शैली थिएटरले हरेक वर्ष जस्तै यस बर्ष पनि राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट आह्वान गरिएको जानकारी दिनुभयो ।  विगत १४ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटकको १२ र १३औँ महोत्सव भर्चुअल रूपमा सम्पन्न गरिएको थियो । 

उक्त नाटक महोत्सवका लागि पुस २२ गतेसम्म स्कृप्ट आह्वान गरिएको र माघ १ गते छनोट भएका नाटकहरू सार्वजनिक गर्ने तयारी रहेको शैली थिएटरका महासचिव  सविन न्यौपानेले बताउनुभयो । त्यसैगरी, १५औँ बालनाटक महोत्सव सात दिनसम्म सञ्चालन गर्ने तयारी भइरहेको पनि महासचिव न्यौपानेले जानकारी दिनुभयो ।काठमाडौँ उपत्यका र बाहिरी जिल्लाहरूबाट पनि नाटक समावेश गरिने जनाइएको  छ ।

बालबालिकाका विषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले विगत १४ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ । नाटककाे स्कृप्ट रूसि सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटरमा बुझाउन सकिने छ ।

नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न नपाउने नियम आयोजकले बनाएको छ । त्यस्तै नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दाअगाडि र पर्दापछाडि गरी बढीमा १५ जनासम्मको समूह मात्र सहभागी हुन पाइने जनाइएकाे छ ।

२०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटक महोत्सवमा पहिलो वर्ष ६ वटा नाटकहरू समावेश रहेका थिए । त्यस्तै, २०६७ सालमा १० ओटा नाटक मञ्चन भएका थिए भने, २०६८ सालमा ८ वटा, २०६९ सालमा १४ वटा, २०७० सालमा १० वटा नाटक समावेश रहेका थिए । त्यस्तै, २०७१ सालमा १५ वटा, २०७२ सालमा १२ वटा, २०७३ सालमा १५ वटा, २०७४ सालमा १५ वटा, २०७५ सालमा २० वटा, २०७६ सालमा १८ वटा तथा, २०७७ सालमा १२ वटा, २०७८ सालमा १० वटा नाटकहरू रहेका छन् भने, रूसी सदन कमल पोखरीमा आयोजना भएको २०७९ सालको महोत्सवमा २९ वटा नाटकहरू समावेश रहेका थिए।

प्रतियोगी नाटकका लागि उत्कृष्ट अभिनेता पुरस्कार सात हजार, उत्कृष्ट निर्देशक पुरस्कार सात हजार, उत्कृष्ट नाटक पुरस्कार १० हजार, प्रोत्साहन पुरस्कार पाँच हजार, पब्लिक च्वाइस पुरस्कार पाँच हजार, अनुशासित नाटक पुरस्कार पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।