Live Streaming

भक्तपुर फर्निचर तथा फर्निसिङ ब्यवसायी संघको १० औं साधारण सभा सम्पन्न

भक्तपुर । भक्तपुर फर्निचर तथा फर्निसिङ ब्यवसायी संघको १० औं साधारण सभा सम्पन्न भएको छ। शनिबार आयोजित साधारणसभाको उद्घाटन कार्यक्रममा विभिन्न पेशागत संघ तथा महासंघका अध्यक्षहरूले विश्व परिवेशका घटनाक्रम, महामारी र आर्थिक मन्दीले व्यवसायीहरू ज्यादै मारमा परेकाले सरकारले विशेष सहुलियतपूर्ण कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिएका छन् ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेलले बैंकको महंगो व्याजदर र बजार मन्दीले ब्यसायीहरू पलायन हुँदै गएको उल्लेख गरे । योगदान र सिपको आधारमा वर्गीकरण गरेर सुविधा र सहुलियतको व्यबस्थापन गर्नुपर्ने कुरामा उनले जोड दिए । महासंघकै वरिष्ठ उपाध्यक्ष ओमबहादुर बस्नेतले नेपाली उत्पादनलाई उपभोग गर्ने गरी ब्यवसायी आफैंले गुणस्तर र समय सापेक्ष उत्पादनमा पहल गर्न सके आयातमा भएको आकर्षण घट्दै नेपाली वस्तु तथा उत्पादन निर्यात हुनसक्ने बताए ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले व्यवसायीहरू आफू बलियो बन्न संस्थागत सुधारमा जोड दिनुपर्ने र समस्यालाई चिर्न संगठित भएर सम्भावना खोज्न सुझाब दिए ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष प्रदिप श्रेष्ठ,चेम्बर अफ कमर्शका अध्यक्ष कविदाश श्रेष्ठ,नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायीसंघ काठमाडौका अध्यक्ष दिनेश अग्रवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम कृष्ण खर्बुजा, भक्तपुर सिकर्मी संघका अध्यक्ष बिक्रम धुकुँजु, भक्तपुर टेलरिङ संघका अध्यक्ष गणेशमान गोसाइँ, हेरिटेज फ्लोरिङ कार्पेट इन्डष्ट्रीज अध्यक्ष डा माधव सुन्दर मल्ल, राजनीतिकर्मी तथा समाजसेवी चन्दन कृष्ण श्रेष्ठ लगायतका बक्ताले वर्तमान आर्थिक तथा व्यवसायिक चुनौती र त्यसभित्रको सम्भावनाका विषयमा आ(आफ्ना धारणा राखेका थिए ।

संघका अध्यक्ष प्रेम बहादुर सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्तिथित महासंघ तथा संघका पदाधिकारीहरूलाई सम्मान पनि गरिएको थियो।