Live Streaming

अन्‍नपूर्ण मिडिया नेटवर्कद्वारा क्यान्सर रोगविरुद्ध सचेतना जगाउन साइकल र्‍याली आयोजना

काठमाडौँ । अन्‍नपूर्ण मिडिया नेटवर्कले क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले साइकल र्‍याली आयोजना गरेको छ। नवौं संस्करणको अन्नपूर्ण पोस्ट् साइकल र्‍याली ‘राइड फर लाइफ २०२४’को उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी हुन्। क्यान्सरविरुद्धको जागरण र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष साइकल र्‍याली आयोजना गर्दै आएको छ।

साइकल र्‍याली उद्घाटन समारोहमा उपसभामुख रानाले अन्नपूर्ण पोस्ट्ले समाचार र विचार मात्र नभई देश रुपान्तरणका लागि रचनात्मक कार्य गर्दै आएकोमा खुसी व्यक्त गरिन्। ‘अन्नपूर्ण पोस्ट्ले समाचार र विचार मात्र नभई देश रुपान्तरणका लागि रचनात्मक कार्य गर्दै आएको छ।’ उनले भनिन्,‘क्यान्सर र स्वास्थ्यको बारेमा जनचेतना जगाउन कहिले ब्याडमिन्टन, साइकल र्‍याली, समाचार र अन्तरक्रियामार्फत काम गर्दै आएको छ।’ उनले साइकललाई प्रवर्द्धन गर्ने हो भन्ने प्रदूषण पनि कम हुने उल्लेख गरिन्। 

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले व्यक्ति, समाज र राष्ट्रलाई स्वस्थ बनाउन जनचेतनाका लागि क्यान्सरविरुद्ध सचेतना जगाउने उद्देश्यले साइकल र्‍याली आयोजना गरिएको बताए। उनले भने,‘साइकल यात्रा गर्नेलाई सोध्नुहोस् साइकलको महत्त्व कति छ। साइकलले कतिको स्वस्थ बनाउँछ। स्वच्छ र स्वस्थ समाज निर्माणका लागि साइकललाई प्रवर्द्धन गर्नुपर्छ।’

नेपाल साइकल संघका अध्यक्ष सुदीप पौडेलले साइकल र्‍यालीमा ५ वर्षदेखि ७६ वर्षसम्मका मानिसहरु सहभागी रहेको बताए। उनले भने,‘साइकल प्रवर्द्धन गर्न सरकारले साइकल लेन बनाउनुपर्छ।’ 

र्‍याली बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भएको र्‍याली गौशाला, चाबहिल, बसुन्धरा चोक, बालाजु चोक, सोह्रखुट्टे, जमल, भद्रकाली, त्रिपुरेश्वर, नर्भिक अस्पताल, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै आइपुगेर टुंगिनेछ।

र्‍यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत भाग्यमानी विजेतालाई उपहार प्रदान गरिनेछ। अन्नपूर्ण मिडिया नेटवर्कले नौं वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल र्‍यालीको आयोजना गर्दै आएको छ।