Live Streaming

पेन नेपालको कविता गोष्ठी सम्पन्न, एकदर्जन बढी कविता प्रस्तुत

काठमाडौँ । पेन नेपालको आयोजनामा शनिवार कविता गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा डा.बमबहादुर थापा जिताली, डा. शुष्मा आचार्य, डा. मित्रवन्धु पौडेल,डा. टंक उप्रेती, श्रीराम सिंह बस्नेत, भिष्म उप्रेती, शिरोमणि दवाडी, लालबहादुर भुजेल, गङ्गा लिगल, टेकबहादुर लौडारी, रुप सिंह भण्डारी, शुष्मा चित्रकार, सुवास सिंह पराजुली, तिर्थ राज भट्ट, खुस्बु रिजाल, उत्तम बिचार, मातृका पौडेल, समृद्धी पोखरेल, शुशिला शर्मा धमला, राजेन्द्रप्रसाद भट्ट लगायतका कवि तथा कवियत्रीहरूले समसामयिक राजनीतिक बेथितिप्रति ब्यङ्ग गरिएकाे थियाे । 

त्यस्तै, कविहरूले हाँस्यब्यङ्ग कविताका साथमा प्रकृति, पर्यावरण, साहित्य, अध्यात्म तथा प्रेममय गद्य तथा पद्य कविताहरू प्रस्तुत गर्नु भएकाे थियाे । प्रस्तुत कविताहरूको समिक्षा गर्दै पेन नेपालकी उपाध्यक्ष डा. शुस्मा आचार्यले विश्व परिवेशमा साहित्यले कुन रुप लिइरहेको छ त्यसमा अध्ययन गरेर समयको माग र पाठकको रुचिलाई विचार गरेर कलम चलाउन युवा साहित्यकारलाई सुझाव दिइन् ।

अबको समयमा निराशा होइन आशा र सम्भावनाको कुरालाई साहित्यकारहरूले उठाउनुपर्ने बताइन्। विभिन्न सय भन्दा बढी देशहरूमा च्याप्टर रहेको लेखक तथा साहित्यकारहरूको अन्तर्राष्ट्रिय संजालको रुपमा क्रियाशील पेन इन्टर्नेशनलको नेपाल च्याप्टर पेन नेपालले साहित्य अन्तरक्रिया, गोष्ठी तथा भाषा साहित्यका विषयमा अनुसन्धान तथा पुस्तक प्रकाशन गर्दै आएको छ।