Live Streaming

बढ्दो मानसिक स्वास्थ समस्या प्रति विज्ञहरू चिन्तित

काठमाडौँ । मानसिक स्वास्थ समस्याले समाजमा बिकराल रुप लिन थालेको भन्दै सरोकारवाला तथा विज्ञहरूले यस विषयमा सरकार तथा नागरिक तहबाट गम्भीर कदम चाल्नुपर्ने औंल्याएका छन् । रोटरी क्लब अफ काठमाण्डौ र आध्यात्मिक पत्रकार समाजद्वारा  मानसिक स्वास्थ्य सचेतनाका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले कानुन र सरकारी रणनीतिमा मानसिक स्वास्थ न्यूनीकरणका लागि आवश्यक थुप्रै प्रावधान भए पनि कार्यान्वयन भने फितलो रहेकोे बताए ।

पूर्व स्वास्थ राज्यमन्त्री तथा सांसद डा. तोसिमा कार्कीले एन्जाइटी तथा डिप्रेसन जस्ता मानसिक सवास्थ्य सम्बन्धि समस्याकै कारण दैनिक रूपमा १७ देखि १९ जना सम्मले आत्महत्या गरिएको तथ्यांकले देखाएको बताइन् । सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसकेको भन्दै डा.कार्कीले हरेक स्वास्थ सेवा प्रदायक संस्थाले सबै किसिमका उपचार पद्धति अपनाएर एकीकृत उपचार योजनामा जानुपर्नेमा आफूले जोड दिइरहेको जानकारी गराइन् ।

डा. प्रदीप पाण्डेले विश्वस्वास्थ संगठनकै तथ्यांकले पैंतीस प्रतिशत बयस्कमा इन्जाइटी देखिएको र हरेक आठ जना मध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेकोे बताए । डा.पाण्डेले यो समस्या भएका ब्यक्तिले समस्या नखोल्ने र खुलेर आफ्ना समस्या माथि नबोल्ने हुनाले आगामी दिनमा भित्र भित्रै दोश्रो महामारीको रुप लिन सक्ने संकेत गर्दै यसबाट हुन सक्ने ब्यक्तिगत,पारिवारिक र सामाजिक खतरा कम गर्न व्यापक जनचेतना र चर्चाको आवश्यकता रहेकोे कुरामा जोड दिए ।

आध्यात्मिक बक्ता स्वामी आनन्द अर्हतले वैदिक कालदेखि नै मनोवैज्ञानिक समस्या र मानसिक त्रासको अवस्था कायम भएको स्मरण गराउँदै ध्यान,ज्ञान र आध्यात्मिक बोधबाट नै शान्ति मिल्न सक्ने बताए । डा.हर्सना श्रेष्ठले नेपालमा हालसम्म मात्रै ४० जना "क्लिनिकल साइकोलोजिस्ट" रहेकोे भन्दै मानसिक स्वास्थ उपचारका लागि योग्य जनशक्तिको अभाव नै अहिलेको ठूलो समस्या रहेकोे औंल्याइन् । यूवा अभियन्ता रन्जू दर्शनाले यो समस्याले ब्यक्ति हुँदै परिवार र सिंगो समाजलाई आक्रमण गर्ने भएकाले कानुन र रणनीतिमा भएका प्रावधानलाई शसक्त रुपले कार्यन्वयन गर्दै शारीरिक तथा मानसिक स्वास्थका समस्या प्रती सामूहिक प्रयत्न गर्न सबैलाई आग्रह गरिन् । 

आयोजक संस्था रोटरी क्ल्ब अफ काठमाडौं र आध्यात्मिक पत्रकार समाज(आपस)का अध्यक्षहरू क्रमशःकिशोर उप्रेती र शिरोमणि दवाडीले स्वस्थ्य समाज निर्माणका लागि मानसिक स्वास्थ सचेतनाका कार्यक्रम अत्यावश्यक देखिएकोले अभियानकै रुपमा संचालन गरिने जानकारी गराए।